अजिनोमोटो ले लेला ज्यान

जिब्रोको स्वाद फेर्न अजिनोमोटो युक्त खाद्य पदार्थ सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नुस्, त्यसको प्रयोगले अत्यन्त हानिकारक तथा दीर्घकालीन रोग लगाउन सक्छ। बजारमा पाइने अजिनोमोटो (मोनोसोडियम ग्लुटामेट-एमएसजी) युक्त खानेकुराको प्रयोगले पनि यस्तो रोग लाग्ने सम्भावना बढी हुन्छ। चाउचाउ, तयारी सुप, तरकारी, माछामासु, क्रेकर, स्न्याक्स, चिजबल्स, कुरकुरे, सोया सस, आलु चिप्स, अचार, सलाद, तरकारीका मसलालगायतमा यसको प्रयोग भएको हुन्छ।


खाद्यविज्ञका अनुसार अजिनोमोटो युक्त खाद्य पदार्थको नियमित सेवनका कारण क्यान्सर, हृदयाघात, दिमाग शून्य अवस्थामा पुगेर केही बेर र धेरै बेरसम्मका लागि सुस्त हुनेलगायतका रोग लाग्न सक्छन्। त्यस्तै छिटै बिर्सने, टाउको दुख्ने, उच्च रक्तचाप हुने, चिटचिट पसिना आउने, शरीर काम्ने, घाँटीमा सुन्निने, मुटुको धडकन बढ्ने, छाती दुख्नेजस्ता रोग लाग्न सक्छन्। यसको प्रयोगले शरीर शिथिल हुने, बिसन्चो अनुभव हुने, वाकवाकी आउने, कमजोरी भएको अनुभव हुने, दाँत बिग्रनेजस्ता समस्या पनि आउन सक्छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइराला अजिनोमोटो भएको खाद्य पदार्थ सकभर प्रयोग नगर्दा राम्रो भन्छन्। उनका अनुसार बालबालिका र वृद्धवृद्धालाई अजिनोमोटो युक्त खाद्य पदार्थले सबैभन्दा बढी असर पु:याउँछ।

'सकेसम्म अजिनोमोटो युक्त खाद्य पदार्थ सेवन गर्नु हुन्न', खाद्य प्रविधि विषयका प्राध्यापक डा. दिलीप सुब्बाले भने। डा. सुब्बाका अनुसार बालबालिकाले खाजा र खानाको रूपमा बढी प्रयोग गर्ने चाउचाउ, चिजबल्स, कुरकुरेजस्ता तयारी खाजामा अजिनोमोटो प्रयोग भएको हुन्छ।

'अजिनोमोटोले कुनै पनि खाद्य पदार्थको स्वादलाई झन् मीठो बनाइदिन्छ', उनले भने, 'यसको अर्को नराम्रो पक्ष भने अजिनोमोटोको स्वाद पाइसकेकामा बिस्तारै यसको लत बस्छ। अजिनोमोटो नभएका खाद्य पदार्थ खान नै मान्दैनन्। जसले गर्दा बिस्तारै त्यस्ता व्यक्तिको शरीरमा यसले नराम्रो प्रभाव पार्न थाल्छ।'

द गार्जियन पत्रिकाका अनुसार जापानका किकुनाई इकेदा भन्ने व्यक्तिले सन १९०८ मा अजिनोमोटोको खोजी गरेका थिए। ७८ प्रतिशत ग्लुकामाइक एसिड, २१ प्रतिशत सोडियम र एक प्रतिशतको हाराहारीमा अन्य पदार्थको मिश्रणबाट अजिनोमोटो बनाइन्छ। जापानमा यसको खोज भए पनि सबैभन्दा बढी चिनियाँले आफ्नो खाद्य पदार्थमा यसको प्रयोग गर्दै आएका छन्। खाद्य पदार्थमा अनियन्त्रित रूपमा अजिनोमोटोको प्रयोग भइरहे पनि सरोकारवाला खाद्य विभागले कडाइका साथ नियमन गर्न सकेको छैन। सय ग्रामको चाउचाउका लागि करिब एक ग्राम अजिनोमोटो हाल्नुपर्ने मापदण्ड सरकारले निर्धारण गरेको छ। तर, बजारमा पाइने चाउचाउमा कति प्रतिशतसम्म अजिनोमोटो प्रयोग भएको छ, त्यसबारेमा भने हालसम्म प्रभावकारी अनुगमन गर्न नसकेको विभागका प्रवक्ता प्रमोद कोइरालाले भने। 'मापदण्ड निर्धारण भए पनि कति हदसम्म प्रयोग भएको छ भनेर परीक्षण गर्न सकेका छैनौं', उनले भने।

नेपालजस्तो सानो मुलुकमा बर्सेनि करिब दुई हजार मेट्रिक टनसम्म अजिनोमोटो आयात भइरहेको प्रति डा. सुब्बाले चिन्ता व्यक्त गर्दै भने, 'यो परिमाण अत्यधिक हो। यसैबाट प्रस्ट हुन्छ, नेपालमा अजिनोमोटोको प्रयोग कुन हदसम्म भइरहेको छ।' उनका अनुसार नेपालका ९५ प्रतिशत परिवारलाई अजिनोमोटोको नकारात्मक प्रभाव र प्रयोगबारे जानकारी छैन। सरकारले यो विषयमा गहन रूपमा अध्ययन गर्नुपर्ने उनको सुझाउ छ।

रुचि चाउचाउविरुद्ध उजुरी

हिमालयन स्न्याक्स एन्ड नुडल्स इन्डस्ट्रिजद्वारा हालै बजारमा ल्याएको रुचि चाउचाउको 'एक्स्ट्रा दम' भन्ने ब्रान्ड अनुमतिबिना नै उत्पादन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। विभागका प्रवक्ता कोइरालाका अनुसार बालबालिकालाई लक्षित गरे बजारमा ल्याइएको चाउचाउमा प्रयोग गर्न नहुने तत्त्व 'जिनसिंन तथा क्याफिन' प्रयोग गरिएको छ। 'बालबालिकाको खाद्य पदार्थमा प्रयोग गर्न नमिल्ने तत्त्व मिसाएर बिनाअनुमति चाउचाउ उत्पादन गरेको भेटेका छौं' उनले भने, 'विभागले यो विषयमा अनुसन्धान गर्दैछ।' जिनसिंन तथा क्याफिनले बालबालिकाको मुटुको धड्कन तथा रक्तचाप बढाउनुका साथै थुप्रै नकारात्मक असर पु:याउने विभागले जनाएको कुरा अन्नपूर्ण पोस्टमा छापिएको छ ।

0 comments for "अजिनोमोटो ले लेला ज्यान"

Leave a reply

 
InterViews
Interview
Articles
Literature
Latest Updates
English Headlines