Health,
Health Tips
»
गर्मीका रोगसँग सधैं सजग रहौं
गर्मीका रोगसँग सधैं सजग रहौं
काठमाडौ, जेष्ठ ६ - गर्मीयाममा दूषित खाद्य पदार्थ र पानीबाट सर्ने झाडा-पखाला, हैजा, जन्डिस (हेपाटाइटिस ए र ई), टाइफाइड, खाद्य विषाक्तलगायत समस्या बढिरहँदा विशेषज्ञहरूले खानपान र सरसफाइमा विशेष ध्यान दिन सुझाएका छन् । इपीडीमीयोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रौतहटमा हैजाले एक जनाको मृत्यु भइसकेको छ भने विराटनगरमा हालसम्म जन्डिसले ११ को ज्यान लिइसकेको छ ।
मोफसलका अन्य ठाउँसमेत दूषित खाद्य र पानीले सर्ने रोगको जोखिममा छन । यस्तै दुई सातायता राजधानीमा टाइफाइड र फाट्टफुट्ट जन्डिससहित झाडा-पखालाको बिरामी बढ्न थालेको इपीडीमीयोलजीका निर्देशक डा. बाबुराम मरासिनीले बताए ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक सरदर १२ भन्दा बढी झाडा-पखाला पीडित भर्ना हुन थालेका छन् । टाइफाइडका बिरामी दैनिक २० जनासम्म आउँछन् । उच्च ज्वरोको समस्यासहित आउने टाइफाइडका रोगीहरूलाई भर्नासमेत गर्नुपर्ने देखिएको छ । टेकु अस्पतालका डा. शेरबहादुर पुनले भने, 'तीव्र गर्मी, सुरक्षित पानीको अभाव, गर्मीले खाद्य पदार्थ बिग्रनु र भाइरस ब्याक्टेरियाहरूका लागि अनुकूल मौसमले यो स्थिति देखिन थालेको हो ।'
राजधानीमा गर्मी ३२ डिग्री नाघिसकेको छ, मधेसमा ४२ डिग्रीसम्म पुग्ने देखिन्छ । तीव्र गर्मीले गर्दा समयअगावै समेत संक्रमणहरू देखिन थालेको विज्ञहरूले बताए । 'राजधानीमा बर्सेनि देखिने हैजा यसपटक समयअगावै चन्द्रनिगाहपुरमा देखियो,' राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यले भनिन् ।
व्यक्तिगत सरसफाइ र खानपानमा सावधानी अपनाए यस्ता समस्याबाट धेरै हदमा बच्न सकिने डा. मरासिनीले बताए । 'चर्पीको उपयोग, मलमूत्र सफा गरेपछि र खानुभन्दा अघि साबुनपानीले राम्ररी हात धुने बानीले झाडा-पखालाको सम्भावनालाई ३३ प्रतिशतसम्म कम गर्छ,' डा. राजेश साहले भने, 'यसले टाइफाइड, जडिसलगायतका अन्य रोगको सम्भावनालाई समेत धेरै कम
गर्छ ।' खाना पकाउनुभन्दा अघि र पकँस्दासमेत हातलाई साबुन पानीले धुनुपर्छ । हात धुँदा कम्तीमा आधा मिनेटसम्म साबुन पानीले विस्तारै दल्नुपर्छ ।
खानुभन्दा अधि सबै फलफूललाई राम्ररी ताछ्नु वा शुद्घ पानीले धुनुपर्ने सल्लाह दिँदै डा. मरासिनी बताए । उनी पाश्चराइज्ड दूध वा त्यसबाट बनेका पदार्थ मात्र खान सल्लाह दिन्छन् । बासी खानै भएन । मासु एकदमै राम्ररी पकाएरमात्र खानुपर्छ ।
चिकित्सकहरूका अनुसार पानी राम्ररी उमालेर चिसो गरेको वा क्लोरिनबाट उपचारितमात्र खानु राम्रो हुन्छ । पौडी पोखेरी, नदी, तालको पानी निल्नु हुँदैन । बजारमा वरफजन्य चीज खानका लागि पानीको शुद्धताको प्रत्याभूति हुनुपर्छ । इकान्तिपुर

